काठमाडौं । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच, डिसहोम कम्पनी आज नेपाली जनमानसमा लोकप्रिय पहिचानको रुपमा स्थापित भईसकेको छ ।

डि.टि.एच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ ।
पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ ।
ललितपुरको भैँसेपाटीस्थित छ्यासीकोटमा सोमबार आयोजित पत्रकार सम्मेलनमा डिसहोमका अध्यक्ष हेमराज ढकालले यस कम्पनीबाट आगामी दिनमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेको जानकारी दिए । ढकालले भने, “हामीले स्याटेलाइटका माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेका छौँ, अहिलेसम्मको अनुसन्धानबाट हेर्दा यसरी दिइने इन्टरनेट सेवा अलिक महङ्गो देखिएको छ तर थप अध्ययन गर्दैछौँ ।”
“नेपालमा ‘पे’ टिभी उद्योगको अवधारणा नयाँ भएको र सरकारसँग कानून पनि नरहेको अवस्थामा हामीले १० वर्षअघि यसको शुरुआत गर्यौँ र यहाँसम्म ल्यायौँ, अब हामीले गाउँमा इन्टरनेटको असुविधा भइरहेको स्थानलाई लक्ष्यगरी त्यहाँसम्म यो सेवा पुर्याउने तयारी गरिरहेका छौँ”, ।
सन् २००९ मा नेपाल सरकारबाट स्वीकृति लिई व्यापारिकरुपमा बिक्री वितरणको अनुमति पाएको थियो । यस टिभीले हाल नेपालमा टिभी हेरिने घरमध्ये २५ प्रतिशत घरसम्म पहुँच पुर्याएको छ ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले हालसम्म सो कम्पनीले करीब १५ लाख सेट–टप बक्स बिक्री गरिसकेको जानकारी दिए।
उनले भने, “यो प्रिपेड सेवा (पहिल्यै पैसा तिर्नुपर्ने) सेवा भएको र निश्चित समयका लागिमात्र पैसा तिर्ने गरेकोले ग्राहकको सङ्ख्या घटबढ हुनसक्छ तर अहिलेसम्म यो सेवा अनुमानितरुपमा २५ प्रतिशत टिभी सेटसम्म पुगेको छ ।” त्यस कम्पनीले भैँसेपाटीको छ्यासीकोटमा स्याटेलाइट रिसिभर राखेको छ । सोही स्थानमा राखिएको ‘अर्थ स्टेन’ बाट सेवा देशभर १७० ओटा टेलिभिजन च्यानलको सेवा उपलब्ध गराउने गरेको छ ।
डिसहोमले सञ्चालनमा आएयता रु चार अर्ब, १० करोड, ९१ लाख राजस्व तिरेको छ । यस डिस मिडिया नेटवर्क लिमिटेडमा ४५० जना कर्मचारी छन् भने दक्ष प्राविधिक आठ हजार जना रहेका छन् । यस लिमिटेडले आफ्नो सेवा देशैभरि पुर्याएको छ र नेपालका २० हजार स्थानबाट यो सेवा वितरणको सञ्जाल स्थापना गरिएको छ ।




