काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको रिहाइको माग गर्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा हालसम्म करिब २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा फसाइएको भन्दै रास्वपाले देशव्यापी अभियान चलाइरहेको हो ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक दीपक बोहराले हालसम्मको प्रगति र खर्च विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार देश तथा विदेशका विभिन्न माध्यमबाट गरी कुल २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन भएको छ । यो अभियानका लागि हालसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भएको पनि उनले जानकारी दिए । ‘हामीले सभापति लामिछाने निर्दोष हुनुहुन्छ र उहाँलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राखिएको छ भन्ने सन्देशसहित जनतासमक्ष गएका हौँ,’ संयोजक बोहराले भने, ‘जनताको अभूतपूर्व समर्थनले हामीलाई थप ऊर्जा मिलेको छ ।’
रास्वपाले गत असार ७ गतेदेखि यो अभियान सुरु गरेको थियो । अभियानलाई थप सशक्त बनाउन पार्टीले आगामी साउन ५ गतेदेखि वडा तहमा घरदैलो कार्यक्रम गर्ने योजना बनाएको छ । सोही कार्यक्रमका लागि सभापति लामिछानेको ५ लाख थान अपिल पत्र र २ लाख थान हस्ताक्षर फारम विभिन्न जिल्लामा पठाइसकिएको बोहराले बताए । उनले भने, ‘हस्ताक्षर संकलन अझै जारी छ, त्यसैले यो संख्या बढ्ने निश्चित छ । साउन ५ बाट सुरु हुने घरदैलो अभियानले यसलाई अझै उचाइमा पुऱ्याउनेछ ।’




