लगानी सम्मेलन सफल पार्न मुख्यमन्त्रीको निर्देशन: ‘अत्यावश्यक बाहेक विदामा नबस्नुस्’

  • एक हप्ताभित्र कानुनी अड्चन फुकाउन कानून सचिवलाई जिम्मा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोजमा आयोजना गर्न लागेको ‘लगानी तथा विकास सम्मेलन’लाई सफल बनाउन मुख्यमन्त्री कमल बहादुर शाहले कर्मचारीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बिदामा नबस्न कडा निर्देशन दिएका छन् । सम्मेलनको तयारीलाई उच्च प्राथमिकतामा राख्दै उनले प्रदेशका प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेललाई मातहतका सबै निकायमा सो निर्देशन तत्काल परिपत्र गर्नसमेत आदेश दिएका हुन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२’ को तयारीका लागि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सम्मेलनको सफलताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। “सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आगामी असोज १ र २ गते हुने लगानी तथा विकास सम्मेलनको तयारीमा पूर्ण रूपमा जुटेको छ,” उनले भने, “त्यसैले, कोही पनि कर्मचारी अत्यावश्यक काम बाहेक अन्य बिदामा नबस्नु होला।”

सम्मेलनको तयारीका क्रममा आउन सक्ने कानुनी जटिलताहरूलाई समयमै सम्बोधन गर्न पनि मुख्यमन्त्री शाहले चासो देखाएका छन्। उनले प्रदेश कानुन सचिव डा. वीरेन्द्र कुमार मिश्रलाई एक हप्ताभित्र लगानीसँग सम्बन्धित सबै कानुनी समस्याहरूको पहिचान गरी समाधानका लागि सहजीकरण गर्न निर्देशन दिएका हुन्। “काम गर्ने क्रममा विभिन्न कानुनी जटिलता आउन सक्छन्,” मुख्यमन्त्री शाहले भने, “तत्काल समाधानका लागि अध्यादेश वा संकल्प प्रस्तावमार्फत ऐन संशोधन गर्न सकिने विकल्पबारे तयारी गर्नुहोस्।”

मुख्यमन्त्री शाहले प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीकर्तामा विश्वास जगाउन प्रदेश सरकार पूर्ण रूपमा गम्भीर र प्रतिबद्ध रहेको बताए। लगानी तथा विकास सम्मेलनलाई सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक ‘कोशेढुङ्गा’ बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।

यो सम्मेलनमार्फत पूर्वाधार तथा पर्यटन विकास, रोजगारी सिर्जना, कृषि तथा वन उपजमा आधारित उद्योगको प्रवर्द्धन, र सीमापार व्यापार तथा अन्तरदेशीय आर्थिक साझेदारी विस्तारमा महत्त्वपूर्ण टेवा पुग्ने प्रदेश सरकारले विश्वास लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री