काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विराटनगरस्थित कोइराला निवास पार्टीका लागि गुटबन्दीको केन्द्र नभई सबै कांग्रेसजनको साझा ‘पवित्र भूमि’ भएको बताएका छन् । लामो समयपछि सार्वजनिक कार्यक्रममा देखा परेका खाँणले नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइराला परिवारले पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै प्रशंसा गरेका हुन् ।
मंगलबार विराटनगर आइपुगेका नेता खाँणले बुधबार बिहान कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै आफ्नो भ्रमणलाई कुनै राजनीतिक गुटसँग जोडेर नहेर्न आग्रह गरे । ‘कोइराला निवास हाम्रो लागि तीर्थस्थल जस्तै हो, यो कुनै गुटको नजरले हेर्ने ठाउँ होइन,’ खाँणले भने, ‘यहाँ आउँदा सत्मार्गमा लाग्न ऊर्जा प्राप्त हुन्छ ।’
उनले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला जस्ता प्रातःस्मरणीय नेताहरूको आम नागरिकसँग गहिरो भावनात्मक सम्बन्ध रहेको बताए । कोइराला निवासको ऐतिहासिक महत्त्वलाई जीवन्त राख्नुपर्नेमा उनको जोड थियो ।
पार्टीभित्रको एकतामा जोड दिँदै नेता खाँणले वर्तमान सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै एकजुट हुनुपर्ने बताए । ‘सभापति सफल भए मात्र पार्टी सफल हुन्छ, पार्टी सफल भए मात्र लोकतान्त्रिक प्रणाली बलियो हुन्छ,’ उनले भने । उनको यो भ्रमणलाई कतिपयले सभापति देउवा र नेता डा. शेखर कोइरालाबीचको दूरी घटाउने प्रयासको संकेतका रूपमा समेत विश्लेषण गरेका छन् ।
१५ औँ महाधिवेशन समयमै हुन्छ
पार्टीको आगामी महाधिवेशनबारे पत्रकारको जिज्ञासामा खाँणले पार्टीको विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गरेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारे । उनले १४ औँ महाधिवेशन पनि सोही प्रक्रियाबाट सम्पन्न भएको स्मरण गराउँदै १५ औँ महाधिवेशन समयमै हुनेमा विश्वस्त हुन आग्रह गरे ।
आगामी महाधिवेशनमा आफ्नो सम्भावित उम्मेदवारीबारेको प्रश्नमा उनले आफू हाल केन्द्रीय समितिमा रहेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने भूमिकामा केन्द्रित रहने बताए । ‘पार्टीको नेता चयन गुटभन्दा माथि उठेर, मूल्य र सिद्धान्तको आधारमा हुनुपर्छ,’ खाँणले भने ।
वर्तमान सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै उनले हालको चुनावी जनादेशअनुसार कुनै पनि दलको एकल सरकार बन्न नसक्ने यथार्थ स्वीकार्दै गठबन्धनको राजनीति आवश्यकता बनेको बताए । कांग्रेस र एमालेबीचको सहकार्य विगतमा पनि पटक-पटक भएको स्मरण गराउँदै उनले सरकारका सकारात्मक कामहरूको प्रशंसा गरे । ‘पढ्दै कमाउँदै’ कार्यक्रम र हरित हाइड्रोजन उत्पादन जस्ता योजनाहरू भविष्यका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
पार्टीको अनुशासन समितिले गरेको कारबाहीबारे सोधिएको प्रश्नमा उनले उक्त निर्णय प्रक्रियागत भएको र त्यसमाथि केन्द्रीय समितिमा समीक्षा गरेर आवश्यक निर्णय लिइने जानकारी दिए । ‘यो गठबन्धनलाई २०८४ सालको चुनावसम्मै लिएर जाने हाम्रो प्रयास हो । गठबन्धनभित्र देखिएका कमीकमजोरीलाई आपसमा छलफल गरेर सुधार्दै अघि बढ्छौँ,’ उनले भने ।




