काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको ठूलो हिस्सा ओगटेको अनौपचारिक अर्थतन्त्र राष्ट्रिय विकासको प्रमुख तगारो बनेको बताएका छन्। उनले व्यवसायलाई औपचारिकीकरण गर्न सरकारले नियमनको नाममा दुःख दिने प्रवृत्ति अन्त्य गर्दै प्रोत्साहन र सहुलियतको नीति लिनुपर्नेमा जोड दिएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, “जबसम्म अनौपचारिक क्षेत्रलाई औपचारिकताको दायरामा ल्याइँदैन, तबसम्म उत्पादकत्व वृद्धि, राजस्व संकलन र लगानीमैत्री वातावरण निर्माण हुन सक्दैन।” उनका अनुसार औपचारिकीकरणले व्यवसायलाई कानुनी सुरक्षा, वित्तीय संस्थासम्म पहुँच र श्रम अधिकारको सुनिश्चितता प्रदान गर्दछ।
अध्यक्ष ढकालले व्यवसाय दर्ता प्रक्रियाको जटिलता, कर प्रणालीको अन्योलता र औपचारिक क्षेत्रमाथि हुने सरकारी नियमनको झन्झटले गर्दा अनौपचारिक क्षेत्रका व्यवसायीहरू प्रणालीमा आउन डराइरहेको तथ्य औँल्याए। “सरकारले औपचारिक क्षेत्रलाई नियमनको नाममा केही दुःख दिँदा अनौपचारिक क्षेत्र औपचारिक हुन हच्किरहेको छ,” उनले भने, “यसमा राज्य गम्भीर बन्नैपर्छ।”
अनौपचारिक व्यवसायलाई प्रणालीमा ल्याउन सरकारले आकर्षक प्याकेज ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, “अनौपचारिक क्षेत्रलाई औपचारिकमा लैजान राज्यले हरेक हिसाबले सहुलियत दिनुपर्छ। प्रोत्साहन गरियो भने मात्रै सबै क्षेत्र सिस्टममा आउँछन् र प्रतिस्पर्धी वातावरण बन्छ। नत्र, सीमामा हुने अनौपचारिक आयातले औपचारिक व्यवसायलाई निरुत्साहित गरिरहन्छ।”
पछिल्लो समय सरकारले निजी क्षेत्रका सुझावहरूलाई नीति निर्माणमा समेट्न थालेकोमा उनले सकारात्मक टिप्पणी गरे। “पहिले निजी क्षेत्रले आफ्नो फाइदाका लागि मात्र बोल्छ भन्ने भाष्य थियो, तर त्यो अब परिवर्तन भएको छ,” ढकालले भने, “सरकारले नीतिगत सुधारमा देखाएको सक्रियताले मुलुकमा लगानीको वातावरण बन्दै गएको छ, जुन अत्यन्तै सकारात्मक हो।” उनले महासंघ पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्न निरन्तर क्रियाशील रहेको बताए ।




