काठमाडाैँ । प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ। घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ । महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
रावल अझै थुनामा छन् भने विशाललाई शनिबार छाडिएको छ । प्रदीपलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले २० दिनदेखि सार्वजनिक अपराध मुद्दामा थुनामा राखेको छ । यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।
डिएनए रिपोर्ट अझै गोप्य
निर्मला घटनाको प्रमुख आधार भनेको डिएनए रिपोर्ट हो । स्रोतका अनुसार रावल र चौधरीको डिएनए रिपोर्ट कञ्चनपुर प्रहरीमा पुगिसकेको छ, तर खोलिएको छैन । स्रोतका अनुसार प्रदीप र विशाल दुवैको डिएनए म्याच भएको छैन ।
तर, दुवैले अपराध स्विकारेको र उनीहरूको भनाइ मिल्दोजुल्दो भएको प्रहरी दाबी छ । त्यही कारण प्रदीपलाई नछाडिएको एक प्रहरी अधिकारीले बताए । ‘प्रदीपले अपराध स्विकारेका छन् । उनीविरुद्ध थप प्रमाण संकलनमा प्रहरी लागेको छ । उनको बयानअनुसार डिएनए म्याच हुनुपर्छ भन्ने नै छैन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘घटनामा उनीहरूसहित अन्य व्यक्तिहरू संलग्न हुन सक्छन् ।’
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धानमा डिएनए एउटा माध्यम मात्र भएको बताए । सामूहिक बलात्कार भएको र नमुना राम्रोसँग संकलन नभएको अवस्थामा डिएनए नमिल्नसमेत सक्ने उनले बताए । हाल सैनिकसहित थप १६ जनाको डिएनए परीक्षण गरिएको छ ।
प्रहरी र सेनासहित तीन सयभन्दा बढीमाथि छानबिन
घटनाको अनुसन्धानमा कुनै कमी नगरिएको प्रहरी अधिकारीहरू बताउँछन् । शंकास्पद तीन सयभन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् ।
बढी शंका भएका २४ जनाको डिएनए परीक्षणसमेत भएको छ । जसमा तत्कालीन एसपी दिल्लीराज विष्टदेखि स्थानीय ब्यारेकका सैनिकसमेत छन् । प्राविधक अनुसन्धानको क्रममा हजारौँ व्यक्तिको कल डिटेल र एसएमएससमेत हेरिएको छ ।
विशाल चौधरी भन्छन्
गोली ठोकेर मार्छौँ भने, बाँच्नलाई अपराध स्विकारेँ
मंसिर १९ गते प्रहरीले मलाई समात्यो । निर्मलालाई अपराध गरेको होस् कि होइनस् भनेर सोधे । मैले होइन भन्दा मेरो आँखामा पट्टी बाँधिदिएर लात्तैलात्ताले कुटे । झुट बोलिस् भने गोली ठोकेर मार्छौँ, सत्य बोलिस् भने प्रहरीमा जागिर लगाइदिन्छौँ भने ।
जागिर लगाइदिन्छन् भन्ने आस त थिएन, तर बाँच्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसैले ‘हो, मैले गरेको हुँ’ भनिदिएँ । फेरि काठमाडौंमा पक्राउ परेको प्रदीप रावलले तेरो नाम लिएको छ, तिमीहरू मिलेर गरेका रहेछौ भनेर स्विकार्न दबाब दिइरहे । गालामा पटकपटक हानिरहेका थिए, त्यसैले मैले हो भनिदिएको हुँ ।
मैले हो भनेर बयान दिएपछि मंसिर २० गते जहाजबाट काठमाडौं लगे । बुबा पनि जहाजमै हुनुहुन्थ्यो, तर बोल्न दिएनन् । उहाँलाई अगाडि राखेका थिए, मलाई सबैभन्दा पछाडि । काठमाडौं पुगेपछि पिटेनन्, तर पिट्छन् भन्ने डर लागिरहेको थियो, त्यसैले उनीहरूले जे चाहेका छन्, त्यही भनिदिएँ ।
बुबाका सामुन्ने पनि हो भनिदिएँ । तर, अदालत गएपछि डरले हो भनेको हुँ, तर मलाई घटनाबारे केही थाहा छैन भनिदिएँ । डिएनए रिपोर्ट पनि मिलेनछ, त्यसैले छुटकारा पाएँ।
प्रतिकृया दिनुहॊस