काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल, हल्चोक नेपाललाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ। जोखिम न्यूनिकरणको पूर्व तयारी अभियान अन्तर्गत आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले सशस्त्र प्रहरीलाई सामग्री हस्तान्तरण गरेका हुन्।
काठमाडौँको हल्चोकमा आयोजित उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी अधिकृतको साथै कम्पनीका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाईंको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा धारणा राख्दै सीईओ अर्यालले सशस्त्र प्रहरी बललाई देशको विपद् व्यवस्थापन तथा उद्धार कार्यमा अग्रपंक्तिमा रहेको सुरक्षा निकायको रूपमा उल्लेख गरे। उनले भने, “बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएको क्षेत्र हो, त्यसैले जोखिम पूर्वतयारीमा पनि हाम्रो सक्रिय भूमिका रहनुपर्दछ भन्ने सोचका साथ यो अभियान सुरु गरिएको हो।” उनले भविष्यमा पनि आवश्यकताअनुसार सशस्त्र प्रहरी बलसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १४२ शाखा तथा उप–शाखामार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको छ। शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनजस्ता सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको कम्पनीले आगामी दिनमा समेत सामाजिक हितका कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट पारेको छ।
उक्त हस्तान्तरण अभियानले आपतकालीन अवस्था तथा विपद् व्यवस्थापनमा बीमा क्षेत्रको सामाजिक योगदानको दृष्टान्त प्रस्तुत गरेको छ।



