युनाइटेड अजोड इन्स्योरेन्सको ३१औं साधारण सभा सम्पन्न, डिजिटल बीमालाई प्राथमिकता दिइने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आयोजित सभाले आगामी दिनमा कम्पनीको सेवालाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल इन्स्योरेन्स’ लाई विशेष प्राथमिकता दिने भावी योजना पारित गरेको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ । साथै, सञ्चालक समितिबाट प्रस्तुत गरिएका सम्पूर्ण साधारण तथा विशेष प्रस्तावहरूलाई समेत सभाले अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना बीमितहरूलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न, दाबी भुक्तानी प्रक्रियालाई थप सहज बनाउन र व्यावसायिक दक्षता अभिवृद्धि गर्न प्रविधिमा लगानी बढाउने रणनीति लिएको छ । यसै अनुरूप, सूचना प्रविधिमा लगानी बढाएर बीमितलाई ‘अनलाइन पोलिसी’ जारी गर्ने व्यवस्था मिलाउने योजनालाई कम्पनीले आफ्नो मुख्य प्राथमिकतामा राखेको छ । यो कदमले बीमा क्षेत्रमा डिजिटल रूपान्तरण ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

हाल कम्पनीले देशभर आफ्नो सञ्जाल विस्तार गर्दै एक प्रधान कार्यालय, ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय, ३९ शाखा, ४३ उपशाखा, १५ बीमा काउन्टर र ६ वटा तेस्रो पक्ष बीमा काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो बृहत् सञ्जालमार्फत देशका सबै क्षेत्रका नागरिकमाझ बीमाको पहुँच पुर्‍याउँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री