आईजीआई प्रुडेन्सियल र फ्रन्टलाइन हस्पिटलबीच ‘क्यासलेस’ सेवा सम्झौता: बीमितलाई सोझै उपचार सुविधा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलबीच नगदरहित (क्यासलेस) स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी एक महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै अब आईजीआई प्रुडेन्सियलबाट स्वास्थ्य बीमा गराएका बीमितहरूले फ्रन्टलाइन हस्पिटलमा आफ्नो बीमालेखको सीमासम्म नगद नतिरी उपचार सेवा पाउने भएका छन्।

एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले हस्ताक्षर गर्नुभयो। यो सहकार्यले स्वास्थ्य बीमा गरेका ग्राहकहरूलाई आकस्मिक वा योजनाबद्ध उपचारका लागि आर्थिक जोहो गर्नुपर्ने झन्झटबाट मुक्ति दिने र गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने विश्वास लिइएको छ।

सम्झौता कार्यक्रममा बोल्दै इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले फ्रन्टलाइन हस्पिटलले आफ्ना सेवाग्राहीहरूलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रा बीमितहरूले अब फ्रन्टलाइन जस्तो प्रतिष्ठित अस्पतालबाट सहजै ‘क्यासलेस’ सुविधा पाउनुहुनेछ।” उहाँले हस्पिटल तथा हस्पिटलसँग आबद्ध सदस्यहरूलाई आवश्यक पर्ने अन्य सबै प्रकारका निर्जीवन बीमा सेवाहरू आईजीआई प्रुडेन्सियलबाटै सहज रूपमा प्राप्त गर्न सकिने जानकारी दिँदै ढुक्क भएर सेवा लिन आग्रह गर्नुभयो।

सोही अवसरमा हस्पिटलका क्लिनिकल अध्यक्ष डा. न्यौपानेले हस्पिटलप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको र सन्तुष्ट बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको बताउनुभयो। उहाँले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्रदान हुने बीमा सेवाहरू छिटो, छरितो र प्रभावकारी रहेको अनुभव सुनाउँदै भविष्यमा समेत कम्पनीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप