सरकार स्थिर छ, तर नेताहरू नै असन्तुष्टि बाँड्दै हिँडे : उपसभापति खड्का

  • जिम्मेवारीमा रहेकाहरू लोभबाट मुक्त भए धेरै सुधार हुन्छ

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला दल मिलेर बनेको सरकारका कारण मुलुकमा राजनीतिक स्थिरता कायम भए पनि नेताहरू नै सरकारप्रति असन्तुष्टि फैलाउँदै हिँडेको तीखो टिप्पणी गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारको काम र देशको यथार्थ अवस्थाबारे जनतालाई सुसूचित गराउनुको साटो राजनीतिकर्मीहरू नै निराशा बाँड्न अग्रसर भएको आरोप लगाएका हुन् ।

”नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर भएका छन्, यो सकारात्मक पक्ष हो,” उपसभापति खड्काले भने, “तर तीनै तहका सरकारले गरेका काम, भएका कमजोरी र देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी नदिई हाम्रै राजनीतिकर्मीहरू चोक, चिया–चौतारीमा बसेर असन्तुष्टि र गुनासो मात्रै बाँड्ने काम गरिरहनुभएको छ। यसले ‘डेलिभरी’ भएन भन्ने सन्देश प्रवाह गरेको छ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले राजनीतिकर्मीहरूमा व्यक्तिगत लोभ हावी हुँदा समस्या बढेको औंल्याए। उनले जिम्मेवारीमा रहेका व्यक्तिहरू लोभमुक्त भए मात्रै देशमा धेरै सुधार सम्भव हुने बताए। “राजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्‍यो। जो मान्छे लोभबाट मुक्त हुन्छ, ऊ डरबाट पनि मुक्त हुन्छ,” उनले भने, “र, जो डरबाट मुक्त छ, उसले मात्रै शिर ठाडो पारेर हिँड्न र जनताको पक्षमा दृढतापूर्वक काम गर्न सक्छ।”

पार्टीको आन्तरिक जीवनबारे चर्चा गर्दै खड्काले हालै सम्पन्न केन्द्रीय समिति बैठकलाई ‘ऐतिहासिक’को संज्ञा दिए। “पार्टी सभापतिज्यूले सबैलाई आफ्ना कुरा खुलस्त राख्न दिएको अवसर र सात दिनसम्मको गहन छलफलपछि आएको सर्वसम्मत निर्णयले यो बैठकलाई उपस्थिति, प्रस्तुति र निर्णयका हिसाबले ऐतिहासिक बनाएको छ,” उनले बताए। बैठकमा तीनै तहका सरकारको कामको समीक्षा भएको पनि उनले जानकारी दिए।

उनले पार्टीको अनुशासन समितिले गरेको निर्णयमा केन्द्रीय समितिले हस्तक्षेप नगर्ने स्पष्ट पारे। विधानअनुसार चित्त नबुझ्ने व्यक्तिले सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको उनले स्मरण गराए।

उपसभापति खड्काले पार्टी संगठनलाई चलायमान बनाउन क्रियाशील सदस्यता वितरण र नवीकरणको काम तत्काल अघि बढाउन जिल्ला नेतृत्वलाई निर्देशन दिए। “यो संगठनको नियमित र पहिलो कर्तव्य हो,” उनले भने, “सदस्यता वितरण र नवीकरणलाई निरन्तर अभियानका रूपमा सञ्चालन गर्नुहोस्।” उनले संविधान संशोधन र विकास निर्माणलाई तीव्रता दिँदै जनताको आकांक्षाअनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री