नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माणका लागि १ करोड सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो ।

किओचको कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाल लाइफ र किओचबीच सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन् ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन किओच–काठमाडौँ अस्पताल बहुविशिष्टिकृत बाल अस्पतालको रूपमा विकास भइरहेको छ । अस्पतालको मूल भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने क्लिनिकल रिसर्च बिल्डिङको निर्माण पूरा भई सेवा सञ्चालनमा आइसकेको छ ।

कार्यक्रममा नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले बाल स्वास्थ्य क्षेत्रमा डा. कोइरालाको अग्रसरतामा अघि बढाइएको परियोजनाले राष्ट्रिय बाल स्वास्थ्यमा ऐतिहासिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

उनले राज्यको नीतिलाई पनि यसले साथ दिने र निजी क्षेत्रबाट यस्तो परियोजना सफलतापूर्वक सञ्चालन हुनुले देशका दूरदराजका बालबालिकाले समेत जीवनरक्षात्मक उपचार प्राप्त गर्ने अवस्था निर्माण हुने उल्लेख गरे ।

त्यसैगरी, नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल स्वास्थ्य, शिक्षा, संस्कृति र सामाजिक रूपान्तरणका क्षेत्रमा कम्पनीले निरन्तर योगदान दिँदै आएको बताए ।

उनले बाल स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा पुर्‍याउने किओचको प्रयासमा साथ दिन पाउँदा कम्पनी गौरवान्वित भएको जनाए। आगामी दिनमा देशभरका सातवटै प्रदेशमा बाल अस्पताल निर्माणमा सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको पनि बताए ।

किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगले परियोजना थप गतिशील हुने र बालबालिकालाई शीघ्र सेवा दिन मद्दत पुग्ने बताए । नेपाल लाइफ जस्तो प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा संस्थाको गरिमा बढेको र कार्यप्रति थप प्रेरणा मिलेको भन्दै आभार प्रकट गरे ।

किओचले बहुविशिष्टिकृत बाल अस्पताल सञ्चालन गर्नुका साथै दक्ष जनशक्ति उत्पादन, गुणस्तर विकास, नीति निर्माण तथा समन्वयात्मक भूमिका खेल्ने उद्देश्य राखेको छ । हालसम्म किओच अन्तर्गत दमकमा पहिलो अस्पताल सञ्चालनमा आइसकेको छ, जहाँ ओपीडी, आकस्मिक, अन्तरङ्ग, शल्यक्रिया लगायत विविध सेवा प्रदान गरिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री