काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न मनसुनमा हुन सक्ने बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्को सामना गर्न तथा उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न आफ्ना सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबार एक विज्ञप्ति जारी गर्दै मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको सन्दर्भमा थप सचेत रहँदै मानवीय सेवामा जुट्न निर्देशन दिएका छन् । विगतका वर्षहरूमा मनसुनजन्य विपद्ले ठूलो जनधनको क्षति पुऱ्याएको अनुभवलाई स्मरण गराउँदै रास्वपाले पूर्वतयारीको आवश्यकतामा जोड दिएको छ । ‘मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ,’ अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विपद्को समयमा नागरिकको सेवा गर्नु सबैको परम कर्तव्य भएको उल्लेख गर्दै पार्टीले आफ्नो सांगठनिक संरचनालाई मानवीय सहायताका लागि परिचालन गर्न निर्देशन दिएको छ । ‘यही मर्मलाई आत्मसात् गर्दै, मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा विशेष आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले रोकथामका उपायहरूलाई पनि प्राथमिकतामा राखेको छ । विज्ञप्तिमार्फत पार्टीले आफ्ना सदस्यहरूलाई आ-आफ्नो क्षेत्रका जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको उच्च जोखिममा रहेका स्थानहरू पहिचान गरी स्थानीयवासीलाई समयमै सचेत गराउन आग्रह गरेको छ। यसले सम्भावित क्षति न्यूनीकरणमा सघाउ पुग्ने विश्वास पार्टीले लिएको छ ।





