काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहने छ ।
सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
सम्भावित भारी वर्षाका कारण पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहनेछ भने सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको खतरा बढेको छ । नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने देखिएकोले महाशाखाले सम्भावित विपत्तिबाट जोगिन आवश्यक पूर्वतयारी गर्न, यात्रामा विशेष सावधानी अपनाउन तथा नदी किनार र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई विशेष अनुरोध गरेको छ ।




