काठमाडौं । भारतको प्रतिष्ठित मल्टिबिजनेस समूह डीएस ग्रुपले आफ्नो चर्चित मसला ब्रान्ड ‘क्याच स्पाइसेस’ अब नेपाली बजारमा ल्याएको छ। नेपाली उपभोक्ताका स्वादप्रतिको बदलिँदो प्राथमिकता र गुणस्तरप्रतिको अपेक्षालाई सम्बोधन गर्दै कम्पनीले यस बजारमा औपचारिक प्रवेश गरेको हो। क्याच मसला हाल काठमाडौं उपत्यकाका प्रमुख खुद्रा स्टोर, सुपरमार्केट, होटल, रेस्टुरेन्ट, सेनाका क्यान्टिनदेखि ई–कमर्स प्लेटफर्म दराजसम्म उपलब्ध भइसकेको छ।
कम्पनीले नेपालमा पकवानको मौलिक स्वादलाई जीवन्त राख्ने उद्देश्यले विभिन्न प्रकारका स्ट्रेट मसला, मिक्स मसला, पेस्ट र साबुत मसलाहरू उपलब्ध गराएको छ। अत्याधुनिक ‘क्रायोजेनिक ग्राइन्डिङ टेक्नोलोजी’ प्रयोग गरी उत्पादन गरिएका यी मसलाहरूमा बास्ना, रङ र पोषण तत्वलाई जस्ताको तस्तै राखिएको बताइएको छ।
डीएस ग्रुपअन्तर्गत क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले नेपाली बजारमा प्रवेश गर्नु आफ्नो ब्रान्डका लागि स्वाभाविक विस्तार भएको उल्लेख गर्दै भने, “नेपाली उपभोक्ताका लागि स्थानीय स्वादअनुसार तयार पारिएका विविध मसलासहित गुणस्तरीय उत्पादन ल्याउन पाउँदा हामी उत्साहित छौं। हामीले गुणस्तरीयता र नवप्रवर्तनमा कुनै सम्झौता गर्दैनौं।”
कम्पनीले नेपालको चर्चित अन्तर्राष्ट्रिय सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्दै आफ्ना उत्पादनहरू विश्वसनीय र स्वादमा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएको छ। सेफ शाहले क्याचसँगको साझेदारीमा प्रसन्नता व्यक्त गर्दै मसलाले परिकारमा ल्याउने स्वादको महत्त्वलाई जोड दिए।
क्याच स्पाइसेसले तीज, दसैं जस्ता नेपाली पर्वलाई लक्षित गर्दै ३६० डिग्री मार्केटिङ अभियान सुरु गरिसकेको छ। टिभी, रेडियो, पत्रपत्रिका, डिजिटल प्लेटफर्म र ‘अन ग्राउण्ड’ गतिविधिबाट उपभोक्तासँग सीधा सम्पर्क बढाउने रणनीति लिइएको छ।




