काठमाडौँ । अन्तर्राष्ट्रिय खेल मैदानमा नेपालको झण्डा फहराउँदै राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष समारोहमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई पुरस्कृत गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे ।
समारोहमा जापानमा सम्पन्न तेस्रो थाउलो वल्ड कपमा कास्य पदक जितेर इतिहास रचेका उसु खेलाडी विजय सिँजाली लाई रु. ६ लाख ५० हजार नगद र प्रमाणपत्रसहित सम्मान गरियो । उनको यो सफलताले नेपालको खेलकुद जगतमा नयाँ उत्साह थपेको छ ।
यसैगरी, इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कास्य पदक जित्ने मनमति विष्ट सहितको राष्ट्रिय टोलीका सदस्यहरूलाई जनही एक लाख ५० हजार प्रदान गरियो । साथै, श्रीलंकामा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल अर्जुन नेपाली सहितको टोलीलाई जनही रु. तीन लाख ले पुरस्कृत गरियो ।
खेलाडीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार मन्त्रिपरिषद्को असार ९ गतेको निर्णयबमोजिम सम्मान गरिएको हो ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले हालै मलेसियामा सम्पन्न एसिसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर स्वदेश फर्किएको विपिनप्रसाद शर्मा नेतृत्वको युवा टोलीलाई बधाई तथा स्वागत पनि गरे । उनले युवा खेलाडीहरूको सफलताले देशको भविष्य उज्ज्वल रहेको संकेत गरेको बताए ।
खेलाडीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, “हामीले सङ्गठित रूपमा खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन, तर अब खेलाडीहरू व्यावसायिक बन्दै गएका छन् । देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने तपाईंहरू सबैलाई धेरै-धेरै धन्यवाद र बधाई छ ।” उनले सफलता एकैपटक नभई निरन्तरको साधनाबाट प्राप्त हुने भन्दै खेलाडीहरूलाई थप मिहिनेत गर्न उत्प्रेरित गरे ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।




