पूर्वराष्ट्रपति विद्याको कमब्याकमा कांग्रेसको खसखसी, भन्यो- ‘यो एमालेको मात्रै विषय होइन’

काठमाडौं । संविधानको संरक्षकको भूमिकाबाट अवकाश लिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेसँगै राष्ट्रिय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । उनको कदमले सत्तारुढ दल नेकपा एमालेभित्र मात्र होइन, प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसभित्र समेत गम्भीर वैचारिक र प्रणालीगत बहस सिर्जना गरिदिएको छ ।

कांग्रेसले यसलाई एमालेको आन्तरिक मामिला मात्र नभई राष्ट्रपतीय संस्थाको गरिमा र स्थापित राजनीतिक प्रणालीमाथिकै चुनौतीका रूपमा लिएको छ । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि यो बहस सुरु भएको हो । यो विषयले कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा प्राथमिकताका साथ प्रवेश पायो, जहाँ शीर्ष नेताहरूले यसको दूरगामी असरबारे गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले भण्डारीको कदमले राजनीतिक प्रणालीको मर्ममाथि प्रहार गर्ने भन्दै पार्टीले यसलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए । सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले भने, ‘रिटायर्ड भइसकेका राष्ट्रपति राजनीतिमा फर्किनु कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन । हामीले विश्वास गरेको राजनीतिक प्रणालीको समग्रतामा यसले पार्ने प्रभावबारे नेपाली कांग्रेसले नोटिसमा लिनैपर्छ । यसबारे छुट्टै छलफल हुनुपर्छ ।’

निधिको भनाइलाई बल पुर्‍याउँदै महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिको भूमिकामा रहेर अभिभावकीय सम्मान पाएको व्यक्ति पुनः दलीय प्रतिस्पर्धामा उत्रँदा त्यसले नकारात्मक सन्देश दिने र देशले ‘अभिभावकविहीनता’ महसुस गर्ने जोखिम औंल्याए । ‘झन्डै एक दशक राष्ट्रपति संस्थामा बसेपछि फेरि राजनीतिमा सक्रिय हुँदा त्यसले राम्रो सन्देश दिँदैन,’ शर्माले बैठकमा भने, ‘कसले, किन र के नियतले सेरेमोनियल व्यक्तित्वलाई राजनीतिमा भिडाउँदैछ ? यसका पछाडिका कुराहरूबारे हामी गम्भीर हुन जरुरी छ ।

कांग्रेसको यो चासो पार्टीको आन्तरिक बैठकमा मात्र सीमित रहेन । पार्टीको धारणालाई सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको शीर्ष भेटवार्तामा समेत उठाएका छन् । देउवाले पूर्वराष्ट्रपतिको राजनीतिमा पुनरागमनले संस्थागत मर्यादा र प्रणालीमा पार्न सक्ने असरबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री