काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित हस्ताक्षर अभियानलाई ‘राजनीतिक प्रोपोगान्डा’ र ‘आफ्नो रोटी सेक्ने प्रपञ्च’ को संज्ञा दिँदै कडा आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद थापाले अदालतमा विचाराधीन मुद्दालाई ‘प्रतिशोध’ को नाम दिएर रास्वपाले जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए । उनले सडकबाट संकलित हस्ताक्षरले सर्वोच्च अदालतको आदेशलाई बदल्न नसक्ने ठोकुवा समेत गरे । रास्वपाले आफ्ना सभापति रवि लामिछानेमाथि भइरहेको कानूनी अनुसन्धानलाई राजनीतिक प्रतिशोध भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको सन्दर्भमा थापाको यो टिप्पणी आएको हो ।
सांसद थापाले भने, ‘सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेका छन् । त्यसलाई प्रतिशोध भन्ने कि राजनीति ? त्यसैलाई प्रतिशोधको खोल ओढाएर अहिले जुन हस्ताक्षर अभियान चलिरहेको छ, त्यो खासमा विशुद्ध राजनीति हो । त्यो राजनीतिक प्रोपोगान्डा हो, आफ्नो रोटी सेक्ने उपक्रम हो ।’
उनले न्यायिक प्रक्रियालाई प्रभावित पार्ने गरी भइरहेका यस्ता गतिविधिले विधिको शासनलाई कमजोर बनाउने संकेत गरे । ‘म दाबीका साथ भन्दछु कि सर्वोच्च अदालतबाट जुन आदेश भएको छ, त्यो आदेशलाई सडकको हस्ताक्षरले बदल्न सक्दैन,’ थापाले भने ।



