काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाविरुद्ध गम्भीर आरोप लागेको छ । नेता मोहनबहादुर बस्नेतले महामन्त्री थापामाथि गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात गरेको आरोप लगाउँदै छानबिन समिति गठन गरी अनुशासनको कारबाही गर्न औपचारिक प्रस्ताव दर्ता गराएका छन् ।
केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता बस्नेतले महामन्त्री थापाले आफूलगायत पार्टीका अन्य नेताहरूलाई चुनावमा हराउन षड्यन्त्रपूर्ण भूमिका खेलेको दाबी गरे । उनले काठमाडौं, चितवन, तनहुँलगायतका कांग्रेसले जित्ने सुनिश्चित भएका क्षेत्रमा समेत महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत अन्य दलका उम्मेदवारलाई जिताउन भूमिका खेलेको आरोप लगाए ।
बस्नेतले भने, ‘पार्टीका नेताहरू भीमसेनदास प्रधान, उमेश श्रेष्ठजस्ता व्यक्तिलाई हराएर रास्वपाका नेताहरू रवि लामिछाने र स्वर्णिम वाग्लेलाई जिताउन महामन्त्री थापाले नै भित्री चलखेल गरे ।’ उनले थापाले आफ्नै निर्वाचन क्षेत्रमा समेत रास्वपासँग मिलेमतो गरेर पार्टीलाई घात गरेको जिकिर गरे ।
बैठकमा नेता बस्नेतले सामान्य कार्यकर्ताले गल्ती गर्दा तत्काल अनुशासनको कारबाही हुने तर पार्टीको महामन्त्रीजस्तो जिम्मेवार व्यक्तिले अन्तर्घात गर्दा उन्मुक्ति पाउन नहुने तर्क प्रस्तुत गरे । उनले रास्वपाका नेता मुकुल ढकालले ‘महामन्त्री थापाकै कारण रास्वपाको दुई सिट बढेको’ भनी दिएको सार्वजनिक अभिव्यक्तितर्फ समेत ध्यानाकर्षण गराए ।




