काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाले कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनजस्तो गम्भीर विषयमा पार्टीभित्र समिति बनाएर गहन छलफल गर्न माग गरेकी छिन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा आफ्नो धारणा राख्दै उनले राजनीतिक सहमतिका साथै जनजीविका र युवाका सवाललाई पार्टीले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
नेता बास्तोलाले सात बुँदे सहमति राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने महत्त्वपूर्ण दस्तावेज भएकाले यसका प्रत्येक बुँदामाथि पार्टीभित्र पर्याप्त विमर्श हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘संविधान संशोधन जस्तो संवेदनशील विषयलाई हतारमा निर्णय गर्नु हुँदैन । यसका लागि एउटा समिति नै गठन गरेर त्यसको निष्कर्षका आधारमा पार्टीले आधिकारिक धारणा बनाउनुपर्छ ।’
पार्टी संगठनलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले पार्टीभित्र मूल्यांकन प्रणालीलाई वस्तुनिष्ठ बनाउन आग्रह गरिन् । ‘पार्टीमा योगदान, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिने परिपाटी स्थापित हुनुपर्छ, यसले मात्र कार्यकर्तामा न्यायको अनुभूति हुन्छ,’ बास्तोलाले भनिन् ।
उनले लामो समयदेखि हुन नसकेका भ्रातृ संस्थाहरूको अधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नका लागि प्रभावकारी समिति बनाएर काम अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गराइन् । देशको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको युवा पलायनको मुद्दालाई सम्बोधन गर्न उनले सरकार र संसदको गम्भीर ध्यानाकर्षण गराइन् ।
बजेट वितरणमा पक्षपात नगरी आवश्यकता र समानुपातिक सिद्धान्तका आधारमा विनियोजन गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘नयाँ पुस्ता र युवालाई लक्षित गरी देशमै स्वरोजगार बन्न सक्ने खालका नयाँ कार्यक्रम ल्याउनुपर्छ । विदेशिएका युवा शक्तिलाई नेपालमै फर्काएर काम गर्ने वातावरण बनाउनु आजको प्रमुख आवश्यकता हो र यसमा संसदले रचनात्मक भूमिका खेल्नुपर्छ ।’
उनले सरकारलाई जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न र जनसरोकारका विषयमा संवेदनशील बन्न खबरदारीसमेत गरिन् ।




