काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडकोबीच साधारण शेयर (आईपीओ) निष्काशन सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्र मार्फत मुक्तिनाथ क्यापिटलले सार्वजनिक रुपमा शेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउने छ, जसका लागि निष्काशन प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । एक कार्यक्रमकाबीच गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
गार्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो जारी पूँजी ५० करोड रकमको २०% प्रतिशतले हुन आउने अर्थात् १० करोड रकम बराबरको रु.१००÷– अङ्कित दरमा १०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएकोे हो । निष्काशनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सम्झौतापत्र अनुसार शेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ ।
गार्जाङ उपत्यका हाइड्रो पावर लिमिटेड २०६०/०९/२१ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति गरिएको थियो र २०७०/१२/२४ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा छ, जुन आयोजनाले २०७४/०८/२८ देखि व्यावसायिक उत्पादन शुरु गरी सकेका छन् ।




