काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चाले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँग कुनै प्रकारको अन्तरविरोध सिर्जना नगरेको स्पष्ट पारेका छन् । उनले यदि भण्डारी राजनीतिमा फर्किएमा त्यो अध्यक्ष ओलीकै ‘सहमति र प्रस्तावमा’ हुने बताएका हुन् ।
पछिल्लो समय एमालेभित्र अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच शक्ति संघर्ष बढेको र कार्यकर्ता तहमा समेत कित्ताकाट सुरु भएको भन्दै सार्वजनिक भएका समाचारप्रति लक्षित गर्दै सचिव महासेठले ती सबै हल्ला निराधार रहेको दाबी गरे । आज जनकपुरधाममा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘बजारमा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच अन्तरविरोध बढेको र कार्यकर्ताहरू कित्ताकाटमा लागेको भनेर जुन हल्ला चलाइएको छ, त्यसमा रत्तिभर सत्यता छैन । उहाँहरूबीच अत्यन्त सुमधुर सम्बन्ध छ ।’
महासेठका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन संविधान र पार्टीको विधानले कुनै बाधा गरेको छैन । यस विषयमा पार्टीको सचिवालय तहमा समेत छलफल भइसकेको खुलासा गर्दै उनले भने, ‘उहाँ (भण्डारी) सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले रोक्ने प्रश्नै उठ्दैन, किनकि संविधान र विधानले उहाँलाई रोक्ने अधिकार कसैलाई दिएको छैन ।’
राजनीतिमा फर्किने वा नफर्किने निर्णय भण्डारीको नितान्त व्यक्तिगत विषय भएको उल्लेख गर्दै महासेठले उनले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिए । यद्यपि, उनले पार्टीभित्रकै केही नेताहरूले यो विषयलाई अनावश्यक रूपमा उचालेर पूर्वराष्ट्रपति जस्तो सम्मानित व्यक्तित्वलाई विवादमा तान्ने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘हाम्रै पार्टीका एक-दुई जना साथीहरूले अन्तरविरोध बढाउने र पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने जुन अनुचित प्रयास गरिरहनुभएको छ, त्यो राम्रो होइन,’ महासेठले भने, ‘उहाँले पार्टीमा कुनै गुटबन्दी वा अन्तरविरोध बढाउने काम गर्नुभएको छैन ।’



