काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला जाँदैछन् । कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न ओली आइतबार बिहान हुम्ला जान लागेका हुन् ।
बिहान १० बजे प्रधानमन्त्रीले बेलिब्रिज उद्घटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाने कार्यक्रम छ । यो पुलको उद्घाटनसँगै २६ वर्षदेखि सडकको प्रतीक्षामा रहेको हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन लागेकोमा खुशी व्यक्त गरेका छन् । १० दिनअघि नै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हुम्ला अब टाढा छैन । देशका ७७ जिल्लामध्ये राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सपना अब पूरा हुँदैछ ।’




