स्पेनबाट फर्किएका प्रधानमन्त्री ओली पत्रकारबाट टाढिए, तोडियो स्थापित परम्परा

काठमाडौं । संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन स्पेन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किएका छन् । तर, यसपटक उनले विदेश भ्रमणबाट फर्किँदा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने स्थापित परम्परा तोड्दै मौनता साँधेका छन्, जसले राजनीतिक र सञ्चार वृत्तमा अनेक जिज्ञासा उब्जाएको छ ।

विगतमा हरेक विदेश भ्रमणपछि आफैँ पत्रकारमाझ उपस्थित भएर जानकारी दिन अग्रसर हुने प्रधानमन्त्री ओली यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षबाट सिधै बाहिरिए । उनको सट्टा परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणबारे तयार पारिएको प्रेस नोट वाचन गरे र पत्रकारका जिज्ञासाको जवाफ दिए। प्रधानमन्त्री स्वयंले प्रेसको सामना नगर्नुलाई एक विरलै देखिने घटनाका रूपमा हेरिएको छ ।

यस अप्रत्याशित घटनाबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीको सचिवालयले ‘नबोल्ने निर्णय गरेरै नबोलेको’ प्रतिक्रिया दियो। प्रधानमन्त्रीका एक सहयोगीले भने, ‘सधैँ प्रधानमन्त्री नै बोल्नुपर्छ भन्ने छैन। अन्य देशमा पनि राष्ट्र प्रमुख वा सरकार प्रमुख फर्कँदा परराष्ट्र प्रवक्ताले नै ब्रिफिङ गर्ने प्रचलन छ ।’

प्रधानमन्त्री ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन असार १४ गते त्यसतर्फ प्रस्थान गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा उनले सो सम्मेलनमा भाग लिएका हुन् ।

स्पेन बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिपे छैटौँसँग शिष्टाचार भेटवार्ता गरे भने आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय हितका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनले विभिन्न मुलुकका सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्थाका प्रतिनिधि, व्यवसायी तथा नागरिक समाजका अगुवाहरूसँग पनि भेटवार्ता गरेका थिए । सम्मेलनमा नेपालले अल्पविकसित, भूपरिवेष्ठित तथा साना टापु मुलुकहरूले सामना गरिरहेका विकासका चुनौतीबारे आफ्नो धारणा प्रष्टसँग राखेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री