बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बेलायत–नेपाल चेम्बर अफ कमर्स र लण्डनस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा लण्डनमा आयोजित व्यापार प्रवद्र्धन कार्यक्रममा उनले नेपालमा लगानीका ‘आकर्षक अवसरहरू’ रहेको उल्लेख गर्दै लगानीकर्ताहरूलाई नेपालप्रति भरोसा गर्न आह्वान गरेका हुन् ।

ढकालले नेपाल–बेलायत सम्बन्ध दुई सय वर्षभन्दा लामो इतिहास बोकेको बताउँदै गोरखा सैनिक, विकास सहयोग र व्यापारमा बेलायतले खेलेको भूमिकाको चर्चा गरे । “अब यो सम्बन्ध व्यापार र लगानीमा रूपान्तरण गरेर नयाँ युगमा प्रवेश गर्न जरुरी छ,” उनले भने ।

उनले नेपालको रणनीतिक भौगोलिक अवस्था, सस्तो श्रम, युवा जनशक्ति, बढ्दो मध्यम वर्ग र स्थिर नीतिगत वातावरणले लगानीमैत्री परिवेश बनाएको दाबी गरे । “नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन सम्भावना छ । स्वच्छ ऊर्जा भविष्य हो । बेलायती कम्पनीहरू यसमा साझेदार बन्न सक्ने अवसर छ,” अध्यक्ष ढकालले भने ।

उनले नेपाल सूचना प्रविधि क्षेत्रमा उदीयमान हब बन्ने क्षमता राख्ने उल्लेख गर्दै डिजिटल सेवा र आउटसोर्सिङका लागि नेपाली युवाको दक्षता उच्च रहेको बताए । महासंघले लगानीकर्तालाई आवश्यक नीति, सहजीकरण र स्थायित्व दिन तयार रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा सहभागी बेलायती व्यवसायी, नेपाली मूलका समुदाय प्रतिनिधिहरू र लगानीकर्ताले व्यापार, लगानी र सहकार्य विस्तारमा चासो देखाएका थिए । अध्यक्ष ढकालले बेलायतस्थित नेपाली समुदायले नेपालका उत्पादनको बजार विस्तार र पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा पनि गरेका थिए । कार्यक्रममा नेपाल–बेलायत आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री