नेपाल-मलेसिया लगानी सहकार्यबारे छलफल,मलेसियाली लगानीकर्तालाई नेपालमा लगानीको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) बीच नेपाल–मलेसिया व्यापार तथा लगानी प्रवद्र्धन र आपसी सहकार्यका विषयमा बिहीबार महासंघ सचिवालय टेकुमा औपचारिक छलफल सम्पन्न भएको छ। दुवै पक्षले पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि, शिक्षा, सेवा र पूर्वाधार निर्माणजस्ता क्षेत्रमा सहकार्यको व्यापक सम्भावना रहेको उल्लेख गर्दै लगानी प्रवाह तथा व्यापार विस्तारमा जोड दिएका छन्।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालले बिमस्टेक र सार्क जस्ता क्षेत्रीय संगठनहरूबाट क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिँदै मलेसियासँगको व्यापार घाटा कम गर्न निर्यात प्रवर्द्धन र मलेसियाबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उद्देश्य रहेको बताए। उनले मलेसियाली निजी क्षेत्रले नेपाललाई आसियानसँग जोड्न अग्रसरता लिनसक्ने अपेक्षा व्यक्त गर्दै हालै सरकारले आठवटा लगानीसम्बन्धी ऐनहरू संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गरेको जानकारी दिए।

महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि र मानव स्रोत विकासमा नेपाल–मलेसिया सहकार्यको अपार सम्भावना रहेको बताइन्। महासंघका कोषाध्यक्ष भरतराज आचार्यले कानुनी सुधारसहित विदेशी लगानीलाई स्वागत गर्ने वातावरण नेपालमा तयार भइसकेको भन्दै मलेसियन व्यवसायीहरूलाई नेपालमा व्यापार र लगानीको अवसर प्रयोग गर्न आग्रह गरे।

मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष डाटो प्रदीप कुमार कुकरेजाले मलेसिया र नेपालबीच व्यापार तथा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै मलेसिया पूर्वाधार, आईटी र पर्यटनजस्ता क्षेत्रमा तीव्र प्रगति गरिरहेको हुँदा यिनै क्षेत्रहरूमा नेपालसँग सहकार्य गर्न सकिने बताए। उनले नेपाली व्यवसायी तथा सरकारसँग आवश्यक सहजीकरण गर्न परिषद् तयार रहेको स्पष्ट पारे।

कार्यक्रममा सहभागी नेपाली उद्योगी व्यवसायीहरूले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र रणनीतिक भौगोलिक अवस्थाको फाइदा उठाउँदै पर्यटन, पूर्वाधार र सूचना प्रविधिमा मलेसियन लगानी भित्र्याउन सकिने धारणा राखे। मलेसियन प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालमा मलेसियाको प्रविधि र अनुभव स्थानान्तरण गरेर दीर्घकालीन साझेदारी गर्न सकिनेमा विश्वास व्यक्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री