बर्दिबासमा एभरेष्ट बैंकको नयाँ शाखा, वित्तीय पहुँच विस्तारमा थप टेवा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै मधेश प्रदेशको महोत्तरीस्थित बर्दिबासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक औपचारिक कार्यक्रमबीच बैंकले आफ्नो १३३ औं शाखाको उद्घाटन गरेको हो, जससँगै मधेश प्रदेशमा बैंकका शाखाहरूको संख्या १५ पुगेको छ ।

बर्दिबास नगरपालिका वडा नं. १ मा स्थापित उक्त शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख क्षेत्रीले बर्दिबासमा एभरेष्ट बैंकजस्तो प्रतिष्ठित संस्थाको आगमनले स्थानीयस्तरमा वित्तीय कारोबार बढाउन र आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “गुणस्तरीय बैंकिङ सेवाले स्थानीय व्यवसायी र सर्वसाधारणलाई सहज बनाउनेछ, जसले समग्र नगरको आर्थिक उन्नतिमा सघाउनेछ ।”

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अत्याधुनिक, सरल र सहज बैंकिङ सेवा बर्दिबासका बासिन्दाको पहुँचमा पुर्‍याउन बैंक प्रतिबद्ध रहेको बताए । उनले भने, “हाम्रो उद्देश्य केवल शाखा खोल्नु मात्र होइन, यहाँका हरेक नागरिकलाई वित्तीय प्रणालीमा जोड्दै उहाँहरूको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्नु हो।”

उद्घाटन समारोहमा बर्दिबास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेश प्रमुख पुष्पराज उप्रेती लगायत बैंकका अन्य कर्मचारीहरू तथा स्थानीय व्यवसायी र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त साझेदारीमा स्थापित एभरेष्ट बैंकले हाल देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६८ एटीएममार्फत करिब १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री