काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाउँपालिका–३, उनापानीमा आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ । २०८२ असार १ गते भएको आगलागीमा ८ घर जलेर पूर्ण रुपमा क्षति भएको घटनापछि बैंकले असार १९ गते पीडित परिवारलाई खाद्यान्न र लत्ता–कपडा वितरण गरेको हो ।
राहत सामग्रीमा चामल, दाल, आलु, तेल, पिठो, कुकर, डाडु लगायत दैनिक उपयोगी वस्तुहरू समावेश गरिएको थियो । आगलागीका कारण घरबारविहीन बनेका पीडितहरूलाई सहयोग गर्दा केही समयका लागि भए पनि सहजता ल्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।
राहत वितरण कार्यक्रममा सिटिजन्स बैंकका कर्णाली प्रदेशअन्तर्गत सर्केगाड शाखाका प्रमुख तथा कर्मचारीहरू सहभागी थिए भने स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको पनि उल्लेखनीय उपस्थिति थियो ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै बैंकले यसअघि पनि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालय र धार्मिक स्थलहरूमा सहयोग पुर्याउँदै आएको छ ।
हालै मात्र विश्वको प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले प्राविधिक नवप्रवर्तनमा समेत अग्रसरता देखाउँदै नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फतै शेयर आवेदन र ऋण विवरण सेवा सुरु गरेको पहिलो बैंकसमेत बन्न सफल भएको छ ।
बैंकले हाल देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । बैंकको सामाजिक उत्तरदायित्वसँगै नविन सेवा विस्तारको प्रतिबद्धता उल्लेखनीय बन्दै गएको छ ।




