काठमाडौं । लिभरपुल र पोर्चुगलका चर्चित फुटबलर डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ । स्पेनको उत्तरपश्चिमी सहर ज़ामोराको नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा जोटाको मृत्यु भएको हो ।
स्पेनको सरकारी टेलिभिजन टिभीई र समाचार संस्था रोयटर्सका अनुसार २८ वर्षीय जोटा र उनका भाई आन्द्रे सिल्भा दुबैको घटनास्थलमै ज्यान गएको हो । यो दुर्घटना जोटाको विवाह भएको १० दिनमै भएको बताइएको छ । स्पेनको समाचार संस्था मार्काका अनुसार गाडीमा आगलागीसमेत भएको र आगो आसपासको वन क्षेत्रमा समेत फैलिएपछि दमकल विभागले नियन्त्रणमा लिएको थियो ।
स्पेनको ज़ामोरा प्रान्तीय काउन्सिलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “ए–५२ राजमार्ग (पालासिओस दे सानाब्रिया) मा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। उनीहरू क्रमशः २८ र २६ वर्षका थिए । गाडीमा आगलागी भएपछि वरपरको जंगलमा समेत आगो फैलिएको थियो । शोक ।”
जोटा पोर्चुगलको पोर्टो सहरमा जन्मिएका थिए र आफ्नो फुटबल यात्रा पासोस दे फेरेराको एकेडेमीबाट सुरु गरेका थिए । सन् २०१६ मा एट्लेटिको म्याड्रिडले उनलाई अनुबन्ध गरेपनि उनले क्लबको लागि कुनैपनि ला लिगा खेल खेल्न पाएनन् । त्यसपछि उनले एफसी पोर्टो र वुल्भ्सका लागि ऋणमा खेलेका थिए ।
उनको करियरले भने लिभरपुलमा गति लिएको थियो । प्रशिक्षक युर्गन क्लोपको नेतृत्वमा उनले क्लबलाई एफए कप र लिग कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । पछिल्लो २०२४/२५ सिजनमा भने लिभरपुलले नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा प्रिमियर लिग उपाधि जित्दा जोटाको योगदान निर्णायक थियो ।
अन्तर्राष्ट्रिय स्तरमा पनि उनी पोर्चुगलको २०१९ र २०२५ को युएफा नेसन्स लिग जित्ने टोलीका सदस्य थिए । चतुर पोजिसनिङ, आक्रामक प्रेसिङ र निर्णायक गोल गर्नसक्ने क्षमताका कारण जोटा पोर्चुगलका भरपर्दा स्ट्राइकरमध्ये एकका रूपमा चिनिएका थिए । उनको असामयिक निधनले फुटबल जगतमा शोक छाएको छ ।




