काठमाडौं । गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारी सामाजिक सञ्जालमा भइरहेको आफ्नो चरित्र हत्या र साइबर बुलिङविरुद्ध कानुनी उपचार खोज्दै गृहमन्त्री रमेश लेखकसमक्ष पुगेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा निरन्तर अपमानजनक टिप्पणी र गालीगलौजको सिकार भएपछि उनीहरूले गृहमन्त्रीलाई भेटेरै गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
गायिका चौहानले गृहमन्त्री लेखकसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले व्यक्तिगत जीवनमाथि आँच पुर्याउने, गालीगलौज गर्ने र चरित्र हत्या गर्ने जस्ता गतिविधि सह्य नहुने बताउँदै आत्मसम्मानको रक्षाका लागि कानुनी प्रक्रियामा जान बाध्य भएको उल्लेख गरेकी छिन् ।
‘यस विषयमा आवश्यक सहयोग प्रदान गर्नुभएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु,’ चौहानले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ ।’
पछिल्ला केही दिनदेखि चौहान र अधिकारी दुवैले आफूहरूलाई सामाजिक सञ्जालमा निरन्तर गालीगलौज गर्ने र आपत्तिजनक सन्देश पठाउने प्रयोगकर्ताका प्रोफाइलहरू सार्वजनिक गर्दै आएका छन् । यो समस्या विकराल बन्दै गएपछि चौहानले सोमबार नै नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरीसमेत दर्ता गराइसकेकी छिन् ।




