नेकपा विधानबाट साम्यवाद गायब !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानबाट ‘साम्यवाद’ गायब पारिएको छ। विधानबाट साम्यवाद हराएको विषयले स्थायी कमिटी बैठकमा प्रवेश पाएको छ।वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानबाट ‘साम्यवाद’ गायब पारिएको भन्दै शनिबारको बैठकमा आपत्ति जनाएका छन्। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

‘पार्टी अन्तरिम विधानबाट साम्यवाद भन्ने शब्द हटाएर कसरी कम्युनिस्ट पार्टी बन्न सक्छ? साम्यवाद हटाएर किन विधान ल्याएको हो ? पार्टीको न्यूनतम र अधिकतम लक्ष्य हुन्छ। विधानमा वैज्ञानिक समाजवाद लेखेर साम्यवादमा पुग्न सकिन्छ ?’ बैठकमा नेता नेपालले प्रश्न गरे, ‘संसारभरिका कम्युनिस्ट पार्टीको विधान र दस्ताबेजमा समाजवादको अधिकतम बिन्दु साम्यवाद हो, त्यसलाई नै गायब पारेर कस्तो पार्टी निर्माण गर्न खोजेको हो ?’

नेपालले तत्कालीन एमालेको सातौं महाधिवेशनमा पनि आफूले अहिलेकै महासचिव विष्णु पौडेललाई विधानको मस्यौदा तयार गर्ने जिम्मा दिँदा ‘साम्यवाद’ भन्ने शब्द हराएको स्मरण गराए।

नेताहरूको पूजा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै नेपालले पार्टीलाई सैद्धान्तिक र पार्टी प्रणालीमा सञ्चालन गर्नुपर्ने बताए।

यसअघि पनि पार्टी एकीकरण भएको प्रसंग उठाउँदै नेपाालले अहिलेचाहिँ केके न गरेका छौँ भन्नुभन्दा पनि इतिहासमा सबैले आफ्नो स्थानबाट कम्युनिस्ट पार्टीको एकीकरणका लागि भूमिका निर्वाह गरेको दाबी गरे। ‘मदन भण्डारीको समयमा पनि पार्टी एकीकरण भएको हो, त्यसपछि पनि भयो। धेरैवटा पार्टी मिलेर अहिले नेकपा बनेको हो। इतिहासको मानमर्दन गर्न पाइँदैन। एकैपटक आफैंले मात्रै एकीकरण गरेको भन्नु सबैको भूमिकाको अवमूल्यन गर्नु हो। अहिले जस्तो अवस्था कहिल्यै भएको थिएन। ख्याल गरियोस्,’ नेपालले भने।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री