काठमाडौं । नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्री उपरथीमा बढुवा भएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए । गएको जेठमा मन्त्रिपरिषद् बैठकले सहायक रथीको पहिलो चार वर्षे पदावधि पूरा गरेका खत्रीको पदावधि थप गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाको सिफारिसमा खत्रीको ७ महिना ८ दिन म्याद थप भएको थियो । तर म्याद थप गरिएको एक महिनामै उनी उपरथीमा बढुवा भएका हुन् । उनको जेठ १६ गतेबाट लागू हुने गरी पुस २४ गतेसम्म सहायक रथीको पदावधि थप गरिएको थियो ।
खत्री यसअघि युद्ध कार्य निर्देशनालयको निर्देशकका रुपमा कार्यरत थिए । उनी २०७८ जेठ १७ गते उनी सहायक रथीमा बढुवा भएका थिए । बढुवापछि संगठन निर्देशनालयमा पदस्थापन भएका खत्रीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा पनि काम गरिसकेका छन् ।




