काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को ५ महीना बितिसक्दा पनि बजेट खर्चको स्थिति भने निराशाजनक देखिएको छ । सरकारले चालू आवमा रू. १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेकोमा अहिलेसम्म २४ प्रतिशत मात्रै खर्च भएको छ । यो तथ्यांक पुस ४ सम्मको हो । बजेट खर्चको प्रवृत्ति हेर्दा चालूतर्फको खर्च उच्च छ भने विकास बजेट खर्च नै हुन नसकेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ ।
सरकारले चालू आवमा चालूतर्फ रू. ८ खर्ब ४५ अर्ब ४४ करोड विनियोजन गरेकोमा हालसम्म रू. २ खर्ब ५४ अर्ब मात्र खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ कुल रू. ३ खर्ब १३ अर्ब ९९ करोड विनियोजन गरिएकोमा रू. ४० अर्ब ३९ करोड ६१ लाख मात्र खर्च भएको छ । वित्तीयतर्फ रू. १ खर्ब ५५ अर्ब ७१ करोड छुट्ट्याइएकोमा रू. २१ अर्ब ८८ करोड मात्रै खर्च भएको छ ।
अर्थ मन्त्रालयका अनुसार संघीय संरचना कार्यान्वयनका कारण पछिल्लो समय चालू खर्च बढेको हो । पूँजीगत खर्च बढाउन मन्त्रालयबाट नियमित अनुगमनको काम भइरहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले खर्च गर्ने प्रवृत्ति गत आवको तुलनामा सुधार्ने प्रयास भइरहेको पनि बताएको छ । तर, अर्थविद् डा. डिल्लीराज खनालले संघीयता कार्यान्वयनले मात्रै चालू खर्च नबढेको बताउँछन् ।




