दिगो वित्त र जोखिम व्यवस्थापन सुदृढीकरणमा लक्ष्मी सनराइज बैंक र आईसीएफसीको साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले दिगो वित्त प्रवर्द्धन र जोखिम व्यवस्थापन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय वित्त निगम (IFC) सँग रणनीतिक साझेदारीमा प्रवेश गरेको छ। उक्त सम्झौताले बैंकको दीर्घकालीन सञ्चालन सुदृढीकरणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।

बैंक र IFC बीचको उक्त रणनीतिक परामर्श साझेदारी दुई प्रमुख क्षेत्रमा केन्द्रित हुनेछ— एकातर्फ सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन प्रणालीसँग सम्बन्धित जोखिम व्यवस्थापन सुदृढीकरण, र अर्कातर्फ जलवायु वित्त (Climate Finance) तथा आपूर्ति श्रृंखला वित्त (Supply Chain Finance) जस्ता दिगो वित्तीय गतिविधिको प्रवर्द्धन।

सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईसीएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक (Financial Institutions Group – Upstream and Advisory) मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार, यो सहकार्यले संस्थागत क्षमता अभिवृद्धि गर्दै, ग्राहकको वित्तीय आवश्यकतालाई दीर्घकालीन रूपमा सम्बोधन गर्न सहयोग पुर्‍याउनेछ। बैंकले जलवायु संकटलाई सम्बोधन गर्नका लागि हरित वित्तमा समेत जोड दिँदै आएको सन्दर्भमा आईसीएफसीसँगको साझेदारी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यस साझेदारीलाई बैंकले आफ्नो दीर्घकालीन दिगोपन रणनीतिसँग जोडेर हेरेको छ। जोखिम व्यवस्थापनको सुदृढ प्रणाली, पारदर्शिता र नवप्रवर्तनात्मक वित्तीय सेवाको माध्यमबाट बैंकले समग्र वित्तीय प्रणालीमा योगदान पुर्‍याउने दाबी गरेको छ।

दिगो विकास लक्ष्य (SDGs) प्रति प्रतिबद्ध बैंकले यस किसिमको सहकार्यमार्फत देशको आर्थिक विकासमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री