नेपाल चिनाउने वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ट्रेलर सार्वजनिक गरिएको हो ।

निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो । यस वृत्तचित्रमा सगरमाथा चढ्न हिँडेकाहरूको कथा, संकल्प र बाटोमा उनीहरुले भोग्ने चुनौतीहरू देखाइएको छ । सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए । त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ ।

कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ ९साउथकोल०, हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।

‘यो केवल वृत्तचित्र मात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं । नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्यायको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप