हाँस्य सिरियल ‘कलकतिया बाली’ की अभिनेत्री अंशा सदा मृत फेला

काठमाडौं । मधेशमा हाँस्यव्यङ्ग्यमार्फत लाखौं दर्शकको मन जितिरहेको चर्चित युट्युब सिरियल ‘कलकतिया बाली’ को सेटमा स्तब्ध बनाउने घटना घटेको छ । सिरियलकी एक प्रतिभाशाली कलाकार तथा मुख्य कलाकार अविनाश झाकी श्रीमती २१ वर्षीया अंशा सदा आफ्नै निवासमा रहस्यमय अवस्थामा मृत फेला परेकी हुन् ।

यो घटनाले मधेशको कला क्षेत्रलाई नै स्तब्ध बनाएको छ । जनकपुरधाम उपमहानगरपालिका-१५ स्थित ‘कलकतिया बाली’ को सुटिङका लागि बनाइएको घरकै एक कोठामा सोमबार राति करिब साढे ९ बजेतिर अंशा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । धनुषा प्रहरीका प्रवक्ता, डीएसपी वरुणबहादुर सिंहका अनुसार, कोठा भित्रबाट बन्द गरिएको थियो र उनले सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले रातिदेखि नै घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । मंगलबार बिहान घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठाइएको डीएसपी सिंहले जानकारी दिए ।

विवाहको ६ महिनामै दुःखद अन्त्य
अंशा र ‘कलकतिया बाली’ का मुख्य पात्र अविनाश झाले ६ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए । सिरियलको सेटमा सँगै काम गर्दागर्दै उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो । धनुषाको विदेह नगरपालिका-२ निवासी ब्राह्मण समुदायका अविनाशले दलित समुदायकी अंशासँग अन्तरजातीय विवाह गरेपछि उनीहरुको जोडीलाई समाजमा एक उदाहरणीय र साहसी जोडीका रूपमा हेरिएको थियो ।

विवाहको ६ महिनाजस्तो छोटो अवधिमै यस्तो दुःखद घटना किन भयो भन्ने कुराले सबैलाई स्तब्ध बनाएको छ । स्थानीय कलाकारहरूका अनुसार, अंशा हँसिली र मिलनसार स्वभावकी थिइन् । घटना हुनुअघि उनी सामान्य नै देखिएको बताइएको छ ।

भित्रबाट ढोका बन्द गरेर उनले यो कदम चालेको हुनाले घटना थप रहस्यमय बनेको छ । प्रहरीले घटनाको बहुआयामिक कोणबाट अनुसन्धान गरिरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारणबारे थप स्पष्ट हुने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री