गगन थापाको प्रस्ताव- २०४६ यताका सबै नेताको सम्पत्ति छानबिन होस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले सत्तामा पुगेपछि संकलन गरेका सम्पत्तिहरूको छानबिन गर्न विशेष आयोग गठन गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। उनका अनुसार, २०४६ सालपछि कांग्रेसबाट सत्तामा गएका वडादेखि केन्द्रसम्मका सबै नेताहरूको सम्पत्ति पारदर्शी ढंगले छानबिन हुनुपर्छ।

आईतबार काठमाडौंमा आयोजित ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रियामा बोल्दै थापाले निष्पक्ष पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरी छानबिन प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
“देशले विश्वास गर्ने, निष्पक्ष पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाऔं,” उनले भने, “त्यो व्यक्ति न कांग्रेस होस्, न एमाले, न माओवादी।”

गगन थापाले यस्तो आयोगलाई २०४६ सालपछि सत्तामा पुगेका सबै नेताको सम्पत्ति छानबिन गर्ने अधिकार दिनु जरुरी रहेको बताए। उनका अनुसार, छानबिनका क्रममा जतिसुकै प्रभावशाली व्यक्ति परे पनि कांग्रेसले आयोगको प्रतिवेदन स्वीकार गर्ने आँट गर्नुपर्छ।

नयाँ पुस्ता (जेन–जी) को विश्वास जित्न पार्टीले भ्रष्टाचारविरुद्ध ठोस मापदण्ड र प्रस्ट प्रतिबद्धता देखाउनुपर्नेमा थापाले विशेष जोड दिए।
उनले भने, “अब नेताहरूले न्यायको पक्षमा उभिनुपर्छ। परिवारका लागि होइन, देशका लागि लड्ने नेतामात्रै स्वीकारिन्छन्।”

उनले विगतका नेताहरू राष्ट्रका लागि लडेपनि अहिलेका युवाहरू ‘परिवारका लागि मात्र कमाउने नेता’ स्वीकार नगर्ने चेतावनी दिँदै भने, “यो पुस्ताको गुनासो सम्बोधन नगरी अब हामी उनीहरूको बीचमा जान सक्दैनौं। यही हो नेपाली कांग्रेसको सबैभन्दा ठूलो चुनौती।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री