चितवनमा बस र माइक्रो ठोकिँदा गर्भवतीसहित ७ जनाको मृत्यु

काठमाडौं । चितवनको राप्ती नगरपालिका-४ स्थित खहरेपुलनजिक शनिबार बिहान भएको बस र माइक्रोबसको ठक्करमा परेर गर्भवती महिला सहित सात जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुबाहक बस र हेटौंडाबाट नारायणगढतर्फ गइरहेको माइक्रोबस आपसमा ठोक्किँदा घटनास्थलमै ठूलो क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा मकवानपुरको हटियाका ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा-५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी रहेका छन् ।

बाँकी पाँच मृतकको परिचय खुल्न बाँकी छ । तीमध्ये अन्दाजी ३०-३५ वर्षकी एक गर्भवती महिला, १८-१९ वर्षकी महिला, २४-२५ वर्षकी महिला, २२-२३ वर्षका पुरुष, र ३५-४० वर्षका पुरुष छन् ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूको उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री