बहुप्रतिक्षित ग्वार्को फ्लाई ओभर आजदेखि सञ्चालनमा, ट्राफिक व्यवस्थापनमा सहजता अपेक्षा

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको बहुप्रतिक्षित फ्लाई ओभर शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । करिब तीन वर्ष लगाएर निर्माण सम्पन्न भएको ओभरपासले अबको दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

२०७८ फागुन १२ गते सुरु भएको उक्त परियोजना पटक-पटक म्याद थप गर्दै २०८१ पुस ८ गते सम्पन्न भएको हो। प्राविधिक जटिलता, माटो सुधारको आवश्यकता र अप्रोच रोडको असमान थिचाइका कारण काम ढिलाइ भएको थियो । निर्माण व्यवसायीबाट १ करोड ४७ लाख रुपैयाँ हर्जाना असुल गरिएको छ ।

५७६.२ मिटर लम्बाइ र १६.४ मिटर चौडाइ भएको चार लेनको ओभरपासको लागत सुरुमा १७ करोड थियो, जुन बढेर अन्ततः ३१ करोड नाघेको छ। अझै पनि सिसीटिभी र बत्ती जडानजस्ता साना काम बाँकी छन् ।

ट्राफिक प्रहरी र पूर्वाधार विज्ञहरूले फ्लाई ओभरले ग्वार्को क्षेत्रको ट्राफिक जाम न्यूनीकरणमा सहयोग पुग्ने र अन्य भीडभाड भएका चोकहरूमा पनि यस्ता संरचना आवश्यक रहेको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री