काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बिहीबार न्यायाधीश द्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले यस विषयमा थप सुनुवाइ नभएसम्मका लागि उक्त आदेशलाई कायम राख्ने निर्णय गरेको हो ।
न्यायालयले पठाएको आदेशमा भनिएको छ, ‘निवेदकले सम्प्रेषण गरेको सामग्रीबाट कुनै कसूर भएको भनी तत्काल अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने अवस्था देखिँदैन । त्यसैले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नू/नगराउनू भनी यस अदालतले मिति २०८२ असार २ मा दिएको अल्पकालीन अन्तरिम आदेश यथावत राखिएको छ ।’
पत्रकार पाठकले झन्डै एक महिनाअघि आफ्नो चर्चित युट्युब शृंखला ‘टफ टक’ मार्फत काठमाडौंको हिल्टन होटलसँग सम्बन्धित अनुसन्धानात्मक भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई समेत जोडेका थिए । यही विषयलाई लिएर उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।
पछिल्लो विकासक्रममा, साइबर ब्युरोको आग्रहमा काठमाडौं जिल्ला अदालतले जेठ २८ गते पाठकलाई पक्राउ गर्न अनुमति दिँदै पक्राउ पुर्जी जारी गरेको थियो । तर अदालतको उक्त निर्णयको कानुनी वैधता र क्षेत्राधिकारसम्बन्धी प्रश्न उठ्दै आएको छ । पाठकले आफ्नो गिरफ्तारी आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए । सोही रिटको प्रारम्भिक सुनुवाइपछि अदालतले असार २ गते पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो, जुन आदेश बिहीबारको फैसलाले अझै कायम राखिएको छ ।




