आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं । रौतहट बमकाण्डका आरोपित नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबु श्रीनारायण सिंह राजपुतले न्यायपरिषद्मा उजुरी दिएका हुन् ।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै सोमबार उजुरी दिएका हुन् । रौतहट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ०८१ वैशाख ३ गते आलमसहितलाई जन्मकैदको फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध आलमले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिएका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै गत जेठ १४ गते थारु र महर्जनको इजलासले जेलमुक्त हुने आदेश गरेका थिए ।

२०६४ सालको बम विस्फोटको घटनामा त्रिलोकप्रताप सिंह पनि मारिएका थिए । उनको मृत्युपछि बाबु श्रीनारायण सिंह १८ वर्षदेखि निरन्तर न्यायका लागि संघर्षरत छन् । उच्च अदालतले प्रमाणको उचित मूल्यांकन नगरी आलम लगायतलाई सफाइ दिएको भन्दै चित्त दुखाएका उनी रौतहटबाट काठमाडौं आएर कानून व्यवसायीहरुको सहयोगमा परिषदमा उजुरी दिएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री