मध्यपूर्व तनावका बीच जी-सेभेन बैठक छाड्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शक्तिशाली मुलुकहरूको समूह जी-सेभेन (G7) को शिखर सम्मेलन बीचमै छाडेर स्वदेश फर्किने तयारीमा रहेका छन् । ट्रम्पका प्रवक्ताले जनाएअनुसार क्यानडामा हुने उच्चस्तरीय रात्रिभोज लगत्तै उनी वाशिङ्टनतर्फ प्रस्थान गर्नेछन् ।

यो निर्णयको पछाडि मध्यपूर्वमा चर्किंदै गएको इरान-इजरेल तनाव प्रमुख कारण बनेको बताइएको छ । राष्ट्रपति ट्रम्पले हालै आफ्नो सामाजिक सञ्जालमा सन्देश प्रकाशित गर्दै सबैलाई इरानको राजधानी तेहरान तत्काल छाड्न आग्रह गरेका थिए । त्यही सन्दर्भमा अमेरिकाले इरान आसपास थप सैन्य स्रोत परिचालनको तयारी गरिरहेको पनि ह्वाइट हाउस स्रोतले जनाएको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले मध्यपूर्वमा सुरक्षा सन्तुलन मजबुत बनाउने उद्देश्यले कदम चालिएको बताएका छन्। यद्यपि अमेरिकी सञ्चार संस्था सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले इजरेलको कारबाहीमा प्रत्यक्ष सहभागिता नजनाउने स्पष्ट पारेका छन् । जी-सेभेनको बैठकमा विश्व व्यापार, युक्रेनमा रुसको आक्रमण लगायतका मुद्दामा राष्ट्रपति ट्रम्पसँग विस्तृत छलफलको तयारीमा रहेका अन्य नेताहरू भने ट्रम्पको समयपूर्व प्रस्थानबाट निराश देखिएका छन् ।

यसपटकको बैठकमा ट्रम्पले यूके प्रधानमन्त्री केअर स्टार्मरसँग ट्यारिफसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्, जुन ह्वाइट हाउसले ‘अपेक्षित सफलता’को रूपमा व्याख्या गरेको छ । अब बाँकी सत्रहरू क्यानडाली प्रधानमन्त्री मार्क कार्नीको अध्यक्षतामा अघि बढ्नेछन् । जी-सेभेन समूहमा अमेरिका, यूके, क्यानडा, इटली, फ्रान्स, जर्मनी र जापान स्थायी सदस्य रहेका छन् । यस पटक भारत, अष्ट्रेलिया र ब्राजिलका नेताहरूलाई पनि विशेष आमन्त्रितका रूपमा बोलाइएको छ ।

ट्रम्पको जी-सेभेन बैठक बीचमै छाड्ने यो पहिलो घटना भने होइन । सन् २०१८ मा पनि उनले क्यानडामै भएको सम्मेलन छाडेर उत्तर कोरियाली नेता किम जोङ-उनसँग भेट्न प्रस्थान गरेका थिए । यसपटकको आकस्मिक निर्णयबारे प्रतिक्रिया दिँदै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले भने, ‘यदि अमेरिका यो युद्धलाई रोक्न सफल हुन्छ भने त्यो सकारात्मक उपलब्धि हुनेछ ।’  उनले ट्रम्पले केही समयअघि सम्बन्धित वार्ताहरूको जानकारी पनि आफूलाई दिएका बताएका छन् ।

त्यसैबीच, इरानको राजधानी तेहरानमा मंगलबार बिहानै विस्फोट भएका विवरण सार्वजनिक भएका छन् । इजरेली सेनाको चेतावनीपछि तेहरानको उत्तरपूर्वी क्षेत्रमा मानिसहरू घर छाडेर सुरक्षित स्थानतर्फ सरेका थिए । इजरेली सेना र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्धको कारबाहीले सम्पूर्ण मध्यपूर्वको सन्तुलनमा प्रभाव पारिरहेको बताएका छन् । नेतान्याहुले इरानको शासन कमजोर हुँदै गएको जनताले महसुस गरिरहेको टिप्पणीसमेत गरेका छन् । -बीबीसी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री