काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दृष्टीविहीन नागरिकलाई लक्षित गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंमा आयोजना गरेको उक्त कार्यक्रममा ४० जना भन्दा बढी दृष्टीविहीनहरुको सहभागिता रहेको थियो ।
बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले कार्यक्रममार्फत् सहभागीहरुलाई बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, डिजिटल कारोबारका सम्भावना र जोखिम, आर्थिक लक्ष्य निर्धारण लगायतका विषयमा विस्तृत जानकारी दिएका थिए । पौडेलले डिजिटल ठगीबाट कसरी सुरक्षित रहने र नियमित बैंकिङ व्यवहारले जीवनमा स्थायीत्व कसरी ल्याउने भन्नेबारे पनि जानकारी दिएका थिए ।
कार्यक्रममा सहभागी दृष्टीविहीन कृष्ण खत्री अविरलले विगतमा आफू वित्तीय साक्षरताबाट वञ्चित हुँदा आफ्नै कमाइ अरुलाई जिम्मा दिनु परेको र त्यसको सुरक्षामा सधैं शंका रहिरहने अवस्थाबाट गुज्रनु परेको बताए । अब भने बैंकमा खाता खोलेर स्वतन्त्र रुपमा कारोबार गर्ने अवसर मिलेकामा खुसी व्यक्त गरे ।
सोही अवसरमा सहभागी विक्रम पथरियाले सानो बचतले भविष्यको ठुलो सपना साकार पार्न सकिने विश्वास आफुमा पलाएको प्रतिक्रिया दिए । सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टीविहीन नागरिकलाई अन्य सरह सेवा उपलब्ध गराएकोमा बैंकलाई धन्यवाद दिएका थिए ।
कामना सेवा विकास बैंकले दृष्टीविहीन नागरिकलाई लक्षित गरी ‘स्वाभिमान बचत खाता’ संचालनमा ल्याएको जनाएको छ । उक्त खातामार्फत् दृष्टीविहीन सेवाग्राहीले मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् । बैंकले ब्रेल लिपीमा खाता शर्तसमेत उपलब्ध गराउँदै दृष्टीविहीनलाई कुनै साक्षी वा अतिरिक्त कागजात माग नगरी खाता खोल्न मिल्ने व्यवस्था मिलाएको छ ।




