आफ्नो कूटनीतिक सफलताको बखान गर्दै ट्रम्प, इरान-इजरायल शान्ति वार्ता गराउने दाबी

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका दुई कट्टर दुश्मन राष्ट्र इरान र इजरायलबीच आफूले शान्ति सम्झौता गराउन सक्ने दाबी गरेका छन् । भारत र पाकिस्तानबीचको युद्ध रोकेको विवादास्पद दाबीलाई पुनः दोहोर्याउँदै उनले इरान र इजरायलको द्वन्द्व पनि समाधान गर्ने दाबी सामाजिक सञ्जालमार्फत गरेका हुन् ।

आफ्नो सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘जसरी मैले भारत र पाकिस्तानबीच सम्झौता गराएको छु, त्यसरी नै म यी दुई (इरान-इजरायल) बीच पनि सम्झौता गराउन सक्छु ।’

ट्रम्पले विगतमा पनि आफूले भारत र पाकिस्तानलाई युद्धको संघारबाट फर्काएको दाबी गर्दै आएका थिए । यद्यपि, यस विषयमा पाकिस्तानले अमेरिकी भूमिकाको प्रशंसा गरे तापनि भारतले भने अमेरिकी मध्यस्थता वा भूमिकालाई कहिल्यै स्वीकार गरेको छैन, जसले गर्दा ट्रम्पको यो दाबी सधैँ विवादमा पर्दै आएको छ ।

आफ्नो कूटनीतिक सफलताको फेहरिस्त प्रस्तुत गर्ने क्रममा ट्रम्पले सर्बिया र कोसोभो तथा इजिप्ट र इथियोपियाबीचको द्वन्द्व पनि आफूले नै रोकेको जिकिर गरेका छन् । उनले भने, ‘मेरो पहिलो कार्यकालमा सर्बिया र कोसोभोबीच दशकौँ लामो तनाव युद्धमा परिणत हुन लागेको थियो, तर मैले यसलाई रोकेँ ।’

त्यसैगरी, नाइल नदीमा निर्माण भइरहेको बाँधका विषयमा इजिप्ट र इथियोपियाबीच चुलिएको विवादमा आफ्नो हस्तक्षेपपछि शान्ति कायम भएको उनको भनाइ छ । ट्रम्पले इरान र इजरायलबीच शान्ति स्थापनाका लागि पर्दा पछाडि काम भइरहेको सङ्केत गर्दै लेखेका छन्, ‘त्यस्तैगरी इजरायल र इरानबीच चाँडै शान्ति हुनेछ । धेरै बैठकहरू भइरहेका छन्, फोनमा कुराकानी भइरहेका छन् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री