आइएमईको २५औँ वार्षिकोत्सवः थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न गभर्नर डा. पौडेलको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित आइएमईको २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए । द्वन्द्वले देश अप्ठेरो समयमा रहेको बेलासमेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै उनले देशलाई अहिले पनि जोखिम लिनसक्ने धेरै उद्यमीहरू खाँचो रहेको उल्लेख गरे ।

सो अवसरमा आइएमईका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपको सफलतामा तीन वटा आधार रहेको प्रस्ट्याए । अध्यक्ष ढकालले आइएमई ग्रुपका कम्पनीहरुले नाफामात्रै कमाउने कुरामा ध्यान नदिएर आममानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीन मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए ।

यिनै तीन वटा मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बीमा, पर्यटन, सूचना प्रविधि, जलविद्युतलगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौँ गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको अध्यक्ष ढकालले उल्लेख गरे ।

त्यस्तै आइएमईका सहसंस्थापक तथा अध्यक्ष हेमराज ढकालले उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आइएमईले आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ढकालले युवाहरूले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिटेन्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न राष्ट्र बैंकको सहयोगको अपेक्षा गरेको पनि बताए । विदेशमा काम गर्न जाने क्रममा युवाहरूले महँगो ब्याज तिरेर ऋण लिन बाध्य हुनुपरिरहेको अवस्थाको अन्त्य गर्न आइएमईमार्फत नै सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए ।

प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै थप विविधीकृत सेवाहरूको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे । उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको २५ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब-एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री