अर्थतन्त्रका सूचक सकारात्मक तर चुनौती कायमै : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले मुलुकको आर्थिक चुनौतीलाई लक्षित गरी नीति तय गरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेटमाथि प्रारम्भिक छलफल प्रस्ताव गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरू सकारात्मक देखिए पनि पुराना संरचनागत कमजोरी र विद्यमान चुनौतीहरू अझै पनि ज्यूँका त्यूँ रहेको उल्लेख गरे।

“अर्थतन्त्र सुधारोन्मुख देखिए पनि हामीले विगतका कमजोरीहरू र संरचनागत समस्याबाट पूर्णरूपमा मुक्ति पाएका छैनौं,” पौडेलले भने, “यिनै समस्याको समाधानतर्फ केन्द्रित नीति तथा कार्यक्रम बजेटमार्फत प्रस्तुत गरिएको छ।”

उनका अनुसार सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक गतिविधिमा विस्तार, निजी क्षेत्रको लगानीमा वृद्धि, रोजगारी सिर्जना र पूर्वाधार योजनाको समयमै सम्पन्नता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

पौडेलले पूँजीगत खर्च चालू आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढाइएको जानकारी दिए। साथै, अन्तर सरकारी वित्त हस्तान्तरणमा पनि ४ अर्ब रुपैयाँले वृद्धि गरिएको उनले बताए। बजेटको ६७ प्रतिशत खर्च राजस्व स्रोतबाट धानिने गरी प्रस्ताव गरिएको उल्लेख गर्दै उनले बजेट व्यावहारिक र चुनौतीको सामना गर्न सक्षम रहेको दाबी गरे।

बजेटमाथिको छलफल रास्वपा र राप्रपाको विरोधबीच आइतबारबाट सुरु भएको हो। पौडेलले संसदमा प्रस्तुत प्रस्तावमार्फत सांसदहरूलाई बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्न आह्वान गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री