काठमाडौं । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएका प्रमुख प्रतिपक्षी दलहरूले संसद्मा आफ्नो विरोध जारी राख्ने भएका छन् । सभामुख देवराज घिमिरेले गतिरोध अन्त्यका लागि गरेको प्रयास असफल भएपछि आज बस्ने प्रतिनिधिसभा बैठक पनि अनिश्चित बनेको छ ।
आइतबार सभामुख घिमिरेले बोलाएको प्रमुख दलका सचेतकहरूसँगको बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री लेखकको राजीनामा र संसदीय छानबिन समितिको माग पूरा नभएसम्म सदन चल्न नदिने आफ्नो पुरानै अडान दोहोर्याएका हुन् । यस अडानका कारण जेठ १३ गतेदेखि अवरुद्ध संसद्को कारबाही र बजेटमाथिको छलफलको कार्यतालिका गम्भीर रूपमा प्रभावित भएको छ ।
सत्तापक्ष भने प्रतिपक्षीको अवरोधका बीच नै सदनको कारबाही र बजेट छलफल अघि बढाउने तयारीमा छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महत्त्वपूर्ण कार्यसूची रहेको छ ।
बैठकमा अन्य केही महत्त्वपूर्ण कार्यसूची पनि छन् । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ टेबुल गर्ने तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यक्रम पनि तय भएको छ । तर, प्रतिपक्षीको विरोधका कारण यी कार्यसूची अघि बढ्छन् वा बढ्दैनन् भन्नेमा अन्योल कायमै छ ।




