अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटनाग्रस्त

काठमाडौं । एयर इन्डियाको लन्डन गन्तव्यतर्फ उडान भर्दै गरेको बोइङ ७८७ ड्रीमलाइनर विमान अहमदाबाद विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको छ। विमानमा चालक दलसहित २४२ जना यात्रु सवार थिए ।

विमान टेकअफको तयारीमा रहँदा अचानक विमानस्थल परिसरसँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान खस्नेबित्तिकै ठूलो धुवाँको मुस्लो आकाशमा फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनास्थलमा प्रहरी टोली, सात वटा दमकल र एम्बुलेन्स पुगिसकेका छन्। राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) का दुई टोली उद्धार कार्यमा खटिएका छन् ।

न्यूज २४ अनलाइनका अनुसार उक्त विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार थिए भन्ने दावी गरिएको छ । यद्यपि, यसको औपचारिक पुष्टि भने हुन बाँकी छ । भारतका गृहमन्त्री अमित शाहले दुर्घटनापछि तुरुन्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग टेलिफोन संवाद गरेका छन् । उनले केन्द्र सरकारबाट आवश्यक सबै सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।

विमानमा आगलागी भएको वा यात्रुहरूको क्षतिको विवरण भने अहिलेसम्म खुलाइएको छैन । उद्धार कार्य जारी रहेको र अवस्था गम्भीर हुन सक्ने अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री