काठमाडौं । एनसेलले आयोजना गर्न लागेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा सहभागी हुनका लागि भिडिओ पोष्ट गर्ने अन्तिम म्याद पाँच दिनले थपिएको छ। अब ईच्छुक सहभागीहरूले आफ्नो भिडिओ असार १ गते आइतबारसम्म पोष्ट गर्न सक्छन्।
कम्पनीले अपट्रेन्डलीसँगको सहकार्यमा देशभर फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य सहित यो अभियान संचालन गरेको हो। यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ।
प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन्। सहभागी प्रतियोगिहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन्।
यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन्। सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडिओ तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्दछ। पोष्ट गर्दा क्याप्सनमा @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog / #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ ।
देशभरिबाट प्राप्त हुने भिडिओहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन्। मेन्टर वर्कशप असार ७ र ८ आयोजना हुनेछ भने निर्णायक मन्डलले सहभागी प्रतियोगीहरुको समिक्षा असार २३ गते हुने एनसेलले जनाएको छ।
यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समुहहरुमा विभाजन गरिनेछन् र प्रत्येक समुह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन्। यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागिहरुले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्याङ्कन गर्नेछन्।
‘लीग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार २७, २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ। उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिनेछ। मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ। यस्तै, नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू यस प्रतियोगिताका थप आकर्षणहरू हुन्। साथै एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरुले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन्।
एनसेलका अनुसार यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्दैन भने सहभागीहरू अभियान अवधिभर नेपालमै हुनु आवश्यक छ। यस प्रतियोगितामा सहभागी हुन र अन्य थप जानकारीका लागि यो लिङ्कमा जान सकिन्छ।




