काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता र आत्मविश्वास विकास गराउने उद्देश्यका साथ लाइफ कम्प्युटरले ‘वेबसाइट निर्माण प्रतियोगिता सिजन ७’ सुरु गरेको छ। प्रतियोगितामा हालै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्।
लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलका अनुसार, यो प्रतियोगिता केवल प्रविधि सिक्ने अभ्यास मात्र नभई जीवन निर्माणको प्लेटफर्मसमेत हो। पोखरेलले भने, “हामी यो कार्यक्रममार्फत विद्यार्थीहरूलाई किताबको पानाबाट व्यवहारको प्लेटफर्ममा लैजान चाहन्छौँ। सूचना प्रविधि सिक्न एउटा सीप हो, तर त्यसलाई प्रयोग गरेर सोच बदल्नु दृष्टिकोण हो। हामी त्यो दृष्टिकोण दिन चाहन्छौँ।”
कार्यक्रम संयोजक लक्ष्मी खत्रीले प्रतियोगिताको उद्देश्य प्रस्ट्याउँदै भनिन्, “यो प्रतियोगिता केवल कम्प्युटर चलाउने कुरा होइन। विद्यार्थीहरूले वेबसाइट निर्माणसँगै आत्मविश्वास, सार्वजनिक प्रस्तुतीकरण र सिर्जनशील अभिव्यक्तिको अभ्यास पनि गर्नेछन्।”
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले लाइफ कम्प्युटरबाट प्राविधिक अभिमुखीकरण तालिम, मार्गदर्शन सामग्री र युनिक कोड प्राप्त गर्नेछन्। मूल्याङ्कन प्रक्रिया सोही कोडमार्फत पारदर्शी ढंगले सम्पन्न गरिनेछ।
प्रतियोगिताका लागि वेबसाइटहरू जेठको अन्तिम साता भित्र बुझाइसक्नुपर्नेछ। सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
पठाइएका वेबसाइटहरूमध्ये उत्कृष्ट २० जना विद्यार्थी चयन गरिनेछ भने तीमध्ये एक जनालाई मुख्य विजेता घोषणा गरिनेछ। विजेताले ल्यापटप प्राप्त गर्नेछ भने अन्य उत्कृष्ट स्थान हासिल गर्नेहरूलाई पेन्ड्राइभ र अन्य सूचना प्रविधिसम्बन्धी सामग्री पुरस्कार स्वरूप प्रदान गरिनेछ।
लाइफ कम्प्युटरले वि.सं. २०६८ देखि सूचना प्रविधिको क्षेत्रमा सेवा दिँदै आएको छ। वेबसाइट निर्माण प्रतियोगिता २०७४ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हो। गत वर्ष सम्पन्न सिजन ६ मा देशभरका विभिन्न जिल्लाबाट १,१०२ जना विद्यार्थी सहभागी भएका थिए। उक्त संस्करणमा हिमालयन एकेडेमी, सामाखुसीका योगेश स्माली मुख्य विजेता भएका थिए।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले लाइफ कम्प्युटरको कार्यालयमा प्रत्यक्ष सम्पर्क वा अनलाइन माध्यमबाट आवश्यक जानकारी लिएर सहभागिता जनाउन सक्नेछन्। संगठनका अनुसार अन्तिम मूल्याङ्कनपछि विजेताको घोषणा असारको दोस्रो साता भव्य कार्यक्रममार्फत सार्वजनिक गरिनेछ।



