काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको आगामी राजनीतिको मार्गचित्र स्पष्ट पारेका छन् । वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिँदै उनले ‘मिसन २०८४’ अन्तर्गत आगामी निर्वाचनमा एमालेको एकल बहुमत ल्याउने रणनीतिक लक्ष्य सार्वजनिक गरेका हुन् ।
अनेरास्ववियुको महाधिवेशनमा बोल्दै अध्यक्ष ओलीले सरकार सञ्चालन र चुनावी प्रतिस्पर्धालाई अलग-अलग रूपमा अघि बढाउने नीति प्रष्ट्याए । “हामी अहिले सँगै सरकारमा छौं, तर भोलि निर्वाचनमा आ-आफ्नो प्रतिस्पर्धाका आधारमा लड्न तयार छौं,” उनले भने, “मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ।”
एमाले वर्तमान सत्ता समीकरणलाई तत्कालको आवश्यकता र चुनावी तयारीलाई दीर्घकालीन लक्ष्यका रूपमा लिएर अघि बढेको संकेत गर्छ। कांग्रेसलाई १३ महिनापछि नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोऱ्याएर उनले गठबन्धनभित्र अविश्वास उत्पन्न गराउन खोज्ने विरोधीहरूलाई जवाफ दिएका छन्। साथै, पार्टीभित्र एकतामा जोड दिँदै उनले आन्तरिक कलहले मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गरे, जसलाई पार्टीको आन्तरिक व्यवस्थापनलाई सुदृढ पार्ने प्रयासका रूपमा हेरिएको छ।




